समाचार

पोखरा महानगरद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रम अन्र्तगत विनियोजित रु. २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई ट्याक्टर वितरण गर्ने योजना अनुसार मंगलबार ३० समूह, सहकारी तथा कृषिफार्मलाई ट्याक्टर वितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

महानगरले ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरणको लागि सार्वजनिक प्रश्ताव आह्वान गरेकोमा २२२ कृषक तथा समूहले निवेदन दर्ता गरेकोमा प्राथमिकताका आधारमा वितरण गरिएको कडरियाको भनाई छ । महानगरका ३३ वडामध्ये २३ वडाबाट ट्याक्टरको लागि माग भएको र बाँकीलाई वितरणको तयारी गरिएको बताईन्छ ।

महानगरप्रमुख मानबहादुर जिसीले यान्त्रिकरणको माध्यमबाट खेती गर्दा कम जनशक्तिको प्रयोगबाट अधिकतम लाभ लिन सकिने भन्दै कृषिलाई यान्त्रिकरण र व्यावसायिक बनाउँदै लैजाने महानगरको योजना भनाई राखे ।

गुणस्तरीय उत्पादन गरी बजारीकरण गर्ने यहाँको उत्पादनलाई ब्रान्डिङ गरी स्थानीय कृषक तथा उत्पादनलाई प्रबर्दन गर्ने योजना रहेको प्रमुख जिसीले प्रष्ट पारे । कार्यक्रममा सहभागि ५० कृषकलाई यान्त्रिकरण, सञ्चालन तरिका, अनुदानमा प्राप्त ट्याक्टर सहुलियत दरमा अन्य सदस्यलाई दिनुपर्ने लगायतमा अभिमूखीकरण गरिएको थियो ।

महानगरले यसै वर्षमा कृषकलाई कृषि उपकरण सहजताको लागि सहुलियतदरमा उपलव्ध गराउने उद्धेश्यले उपकरण केन्द्र स्थापनाको तयारी गरेको छ।

लेखनाथ उद्योग वाणिज्य संघसँगको साझेदारीमा कृषकलाई कृषि उपकरण भाडामा उपलव्ध गराउने प्रयोजनका लागि(कस्टम हायारिँग केन्द्र) स्थापना गरिने महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले दिए । यसका चालू आर्थिक वर्षमा रु. ४५ लाख बजेट बिनियोजन गरिएको तिमिल्सिनाले बताए ।